भूकम्प पीडितका लागि राहत बोकेर नेपाल आइपुग्यो चिनियाँ विमान

 काठमाडौँ - जाजरकोट भूकम्प पीडितका लागि राहत बोकेर चिनियाँ सेनाका दुई विमान नेपाल आइपुगेक छन् ।

चीनबाट राहत बोकेर चिनियाँ सेनाका दुई कार्गो विमान आज बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । यहाँबाट उक्त राहत सामग्री सरकारको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा पुर्‍याउने तयारी छ ।

उत्तरी छिमेकी राष्ट्र चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत घोषणा गरिसकेको छ । यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको थियो ।

चीनले पठाएको पहिलो चरणको सामग्री बोकेका ट्रकहरू सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइसकेको छ । राजदूत सोङका अनुसार मंगलबार घोषणा भएको १३ मिलियन आरएमबी अर्थात् नेपाली १ करोड ३३ लाख १० हजार ६० रुपैयाँ सहयोग दिने भएको छ।

नेपालका भूकम्पपीडितका लागि रेडक्रस सोसाइटी अफ चाइनले दिने यो नगद सहयोगलाई चीनले आपत्कालीन नगद सहयोग भनेको छ ।