सर्लाहीमा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते

सर्लाही - सर्लाहीको गोडैता नगरपालिका–८, सिसौटियामा गएराति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गाउँको भित्री सडकमा बाँस लोड गरिएको ना ५ त ६१८२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा ट्याक्टर चालक गोडैता नगरपालिका–७ का ४० वर्षीय अशेश्वर पटेल र सहचालक गोडैता नगरपालिका–८ का २८ वर्षीय शंकर पटेलको मृत्यु भएको हो ।

चालक अशेश्वरलाई उपचारका लागि मलंगवाबाट वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै र सहचालक शंकरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गोडैता नगरपालिका–८ बस्ने २० वर्षीय रुपेश महतो र रौतहटको परोहा नगरपालिका–८ बस्ने २४ वर्षीय जयप्रकाश पटेल घाइते भएका छन् । उनीहरुको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।