झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानलाई गैह्र कानुनी रुपमा पैसा दिएको भन्दै ७ जनाविरुद्ध मुद्दा

 काठमाडौँ - अख्तियार अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री विजय कुमार र लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मानबहादुर खड्कासहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गैह्र कानुनी रुपमा १७ करोड ९८ लाख ३३ हजार रकम दिएको भन्दै ७ विरुद्ध विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको  अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालको नाममा उक्त प्रतिष्ठान खोलिएको हो । अख्तियारका प्रवक्ता दाहालका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेम कुमार श्रेष्ठ, तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्‍का सञ्चालक समितिका पदाधिकारीहरु अध्यक्ष रेवती प्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध पनि मुद्दा दायर भएको छ ।