इजरायलमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्न एमालेको माग

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले इजरायलमा रहेका नेपालीहरूको छिटोभन्दा छिटो उद्धारका लागि पहलकदमी लिन सरकारसँग माग गरेको छ ।

प्रतिनिधि सभाको आज आइतबार बसेको बैठकको विशेष समयमा एमाले प्रमुख सचेतक पदम गिरिले प्रधानमन्त्री प्रचण्डले इजरायलका प्रधानमन्त्रीसँग संवाद गरेर नेपालीहरूको छिटोभन्दा छिटो उद्धार गर्न माग गरेका हुन् ।

सदनमा आएर घटनाको विवरण मात्रै सुनाएर नपुग्ने भन्दै उनले नेपाली नागरिकहरूको उद्धारका लािग गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका छन् । नागरिकहरूको अभिभावक राज्य भएकाले पीडामा रहेका नेपालीहरूका लागि प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ ।

संयुक्त राष्ट्रसंघको बैठक समेत चलिरहेको अवस्थामा नेपालीहरूले भोगेको पीडाका बारेमा पनि नेपालका प्रतिनिधिहरूले राष्ट्रसंघको ध्यानाकर्षण गराउनुपर्ने धारणा प्रमुख सचेतक गिरीले व्यक्त गरे ।