चीनको कलेज र मदन भण्डारी फाउन्डेसनबीच पाँच बुँदे सहमति

बेइजिङ - चीनको प्रमुख शहर छोङछिङस्थित ‘छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज’ र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमुलक अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । शैक्षिक विकासको लागि तालिम केन्द्र स्थापना, अध्ययन र प्राविधिक कार्यक्रम परियोजना सञ्चालन गर्ने पाँच बुँदे सम्झौता भएको नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

सम्झौतामा फाउन्डेसनको तर्फबाट अखिल नेपाल महिला संघको अध्यक्ष समेत रहेकी फाउन्डेसनको केन्द्रीय सदस्य टुका हमाल र ‘छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज’ को तर्फबाट प्रमुख लि जीओ कुअङले हस्ताक्षर गरेका छन् ।


चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा रहेका नेकपा(एमाले) का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनबीच भएको भेटर्वार्तामा एकअर्कामा अनुभव, सीप, विचार र ज्ञानलाई आदानप्रदान गर्ने बिषयमा कुराकानी भएको थियो । त्यही क्रममा महासचिव पोखरेलले छोङछिङले आफ्नो आधुनिकीरणका क्रममा आर्जन गरेको ज्ञान, सीप र विकास गरेको प्रबिधि नेपालसँग आदानप्रदानको प्रस्ताव राखेका थिए ।