गुगल प्ले स्टोरमा इसेवा एप पुन : उपलब्ध

काठमाडौँ । केही दिनदेखि गुगलको प्ले स्टोरबाट हटेको इसेवा एप पुनः उपलब्ध भएको छ।

कम्पनीका अनुसार विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउको लागि नयाँ नीति जारी गरेको छ। 

उक्त नीति अनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा रहेका एपहरु हटाउने गर्दै आइरहेको छ। गुगल प्ले स्टोरमा एप पब्लिस गर्ने सबैले आफ्नो अकाउन्ट भेरिफाइ गर्नुपर्ने हुन्छ। 

इसेवा अकाउन्ट इसेवा प्राइभेट लिमिटेडको नामले भेरिफाइड रहेको थियो तर केही समयअगाडि कम्पनी प्राइभेट लिमिटेडबाट लिमिटेडमा परिवर्तन भएको हुनाले गुगल प्ले स्टोरमा नाम परिवर्तन हुने क्रममा रहेको थियो। 

गुगलले बिजनेस तथा संस्था भेरिफाइ गर्न डुन्स नम्बर प्रयोग गर्छ, जुन डुन एन्ड ब्राडस्ट्रिट नामक अमेरिकन कम्पनीले उपलब्ध गराउँछ ।

नाम परिवर्तन प्रक्रिया भइरहँदा गुगलको सिस्टममा भएको र डुन्स नम्बरमा भएको विवरण भिन्न देखिएकोले गुगलले प्ले स्टोरमा अस्थायी समयको लागि अनुपलब्ध गराएको थियो । अहिले सो प्रक्रिया पूरा भइसकेकोले इसेवा पुनः प्ले स्टोरमा उपलब्ध भइसकेको छ।