विपद् प्रभावितलाई सहयोग गर्न सांसदको माग  

काठमाडौँ ।  प्रतिनिधिसभा सदस्यहरुले बाढीपहिरो र डुबानलगायत मनसुनजन्य विपद् प्रभावितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा उनीहरुले बाढीपहिरोका कारण घाइते भएकाहरुको समयमा उपचार र प्रभावितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउन माग गरे।

प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले बाढीपहिराका कारण मुलुक आक्रान्त भएको र मनसुनजन्य विपद्का कारण धनजनको क्षति हुनुका साथै सडकखण्डसमेत अवरुद्ध भएको बताए। मनसुनजन्य विपद्मा ज्यान गुमाएकाका परिवार तथा घाइतेलाई उचित क्षतिपूर्ति एवं राहतको प्रबन्ध गर्नुपर्नेमा जोड दिए।

सांसद लक्ष्मी तिवारीले मनसुनजन्य विपद् जोखिम घटाउन र जोखिम व्यवस्थापनमा सरकारको क्षमता अभिवृद्धि गर्न आवश्यक भएको बताए।

सांसद विद्या भट्टराईले लामाचौर क्षेत्रमा नाला व्यवस्थापन हुन नसक्दा बालकको मृत्यु भएको भन्दै सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन्। “पोखरा क्षेत्रमा पहिरोको पनि  जोखिममा छ। पहिराका कारण आवागमन रोकिएको छ”, उनले भनिन्, “ठाउँठाउँमा सडक भासिएको छ, पोखराका १७ बस्ती डुबानको जोखिममा छन्, विपद् प्रभावितलाई राहत र क्षतिपूर्ति व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्छ।”

यसैगरी अर्का प्रतिनिधिसभा सदस्य अच्युतप्रसाद मैनालीले पनि बाढीपहिराका कारण मानिसहरुको ज्यानै जोखिममा रहेको भन्दै घाइतेको निःशुल्क उपचार र पीडितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउन माग गरिन्।

सांसद किरणकुमार साहले मनसुन सुरु भएसँगै बाढीपहिरोको जोखिममा बढेको भन्दै पूर्वतयारीमा सरकारको तयारी कमजोर रहेको बताए। “जलवायु परिवर्तनका कारण बाढीपहिरोजस्ता मनसुनजन्य विपत्ति बढिरहेको छ, यसबाट बच्न सरकारले प्रतिकार्य र पूर्वतयारीमा जोड दिन आवश्यक छ।”

सांसद वासुदेव घिमिरेले पनि बाढीपहिराका कारण धनजनको क्षति भएको भन्दै विपद् व्यवस्थापन र पुनःस्थापनामा लाग्नुपर्नेमा जोड दिए। उनले निर्माण–व्यवसायीको बक्यौता भुक्तानी गर्न सरकारसँग अनुरोध पनि गरे।