टी–२० विश्वकपमा क्यानडाको ऐतिहासिक जित

काठमाण्डौँ - क्यानडाले टी–विश्वकपमा पहिलो जित हासिल गरेको छ । शुक्रबार भएको समूह ए अन्तर्गतको खेलमा क्यानडाले आयरल्याण्डलाई १२ रनले पराजित गरेको हो ।

१ सय ३८ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२५ रन मात्र बनाउन सक्यो । आयरल्याण्डका लागि मार्क अडेरले २४ बलमा सर्वाधिक ३४ रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे । जर्ज डकरेलले २३ बलमा ३० रन जोडे ।
क्यानडाका लागि जेरेमी गोर्डन र डिलोन हाइलिगरले २–२ विकेट लिए । जुनेद सिद्धकी र साद बिन जाफरले १–१ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३७ रन बनाएको थियो । टोलीका लागि निकोलस किर्टोनले सर्वाधिक ४९ रन बनाए । उनले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । श्रेयस मोभ्भाले ३६ बलमा ३७ रनको योगदान दिए । प्रगत सिंहले १८ तथा एरोन जोन्सनले १४ रन जोडे ।  आयरल्याण्डका लागि क्रेग यङ र ब्यारी म्याकार्थीले २–२ विकेट लिए । मार्क अडेर र गेराथ डेलानीले १–१ विकेट हात पारे ।