व्यक्तिगत चाहना त्यागेर देशको आवश्यकताअनुसार काम गर्न जरुरी छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा लायन्स क्लबको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशले राजनीतिमा ठूलो परिवर्तन गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब समाजलाई आर्थिक र सामाजिक विकास गर्नुपर्ने दायित्व पूरा गर्न आवश्यक भएको बताए ।

उनले अहिले समाजले प्रणाली र प्रणालीलाई नेतृत्व गरिरहेका नेताहरू कुर्सीको लागि होडबाजी गरिरहेको प्रश्न उठाइरहेका बेला लायन्स क्लबले गरेका कामहरूबाट सिक्दै अघि बढ्न आवश्यक रहेको बताए ।

सभामुख घिमिरेले आफ्नो व्यक्तिगत चाहनालाई त्यागेर देशको आवश्यकतालाई मध्यनजर गरी अघि बढ्न जरुरी रहेको बताए ।

सभामुख घिमिरेले लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक सौन्दर्यता खोज्ने कुरामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।