कालोमोसो अभियान चलाएको आरोपमा पक्राउ

काठमाडौँ - व्यवसायी दुर्गा प्रसाईंका सहयोगी एवं बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने अभियानका संयोजक भन्ने आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् ।

बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलाई धम्की दिएको आरोपमा प्रहरीले चितवन घर भएका शम्भु थापालाई पक्राउ गरेको छ । उनलाई दुर्गा प्रसाईं समूहको कालोमोसो अभियानका संयोजक भनेर आरोप लगाइने गरेको छ ।

थापाले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएका थिए । उनले फेसबुक, टिकटकमा समेत यो अभियान चलाएको देखिन्छ । थापालाई चितवनको भरतपुरस्थित मालपोत चोकबाट पक्राउ गरिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘टिकटक’ लगायत सामाजिक सञ्जालमा थापाले भिडियो पोष्ट गरेर धम्की दिएपछि बैंक तथा वित्तीय संस्थाहरूले त्यसबारे आपत्ति जनाएका थिए । यसबारेमा दुर्गा प्रसाईं समूहले भने केही बोलेको छैन ।