विमान कम्पनीको बक्यौता ९८ करोड

काठमाडौँ - आन्तरिक र अन्तर्राष्ट्रियतर्फ हवाई सेवा दिँदै आएका हवाई कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता झन्डै ९८ करोडको हाराहारीमा छ । प्राधिकरणले बक्यौता रकम बुझाउन बाँकी हवाई कम्पनीलाई फागुन ११ गते परिपत्र गर्दै फागुन १६ गतेभित्र बक्यौता रकम बुझाउन निर्देशन दिएको थियो ।

तिनको बक्यौता आन्तरिकतर्फ ४८ करोड ८५ लाख ८५ हजार ८२० र अन्तर्राष्ट्रियतर्फ ३९ करोड ९५ लाख ७४ हजार ३६४ रुपियाँ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मात्रै १६ वटा हवाई कम्पनीले आठ करोड ६९ लाख पाँच हजार ४०१ रुपियाँ बक्यौता रकम बुझाउन बाँकी छ ।

आन्तरिकतर्फका नौवटा हवाई सेवा कम्पनी र ११ वटा हेलिकोप्टर कम्पनीले विमानस्थलका सेवा सुविधा प्रयोग गरेबापतको बक्यौता रकम तिर्न आनाकानी गरेपछि प्राधिकरणले चैत १८ गतेदेखि लागू हुने गर्मीयामका लागि नयाँ उडान तालिका स्वीकृति नगर्ने अडान राखेको छ । गर्मीयामको उडान तालिका स्वीकृत नहुने भएपछि केही हवाई कम्पनीले बक्यौता रकम बुझाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्राधिकरणको बाध्यकारी निर्णयपछि आन्तरिकतर्फका यती एयरलाइन्स, समिट एयर, एयर डाइनेस्टी र सिम्रिक एयरले बक्यौता बुझाइसकेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।