अर्थतन्त्र बचाउन संरचनागत सुधार आवश्यक, तत्काल कदम चाल्न सरकारलाई सुझाव

काठमाडौं - मुलुकको अर्थतन्त्र दिन प्रतिदिन समस्याग्रस्त हुँदै जान थालेपछि सुधारका लागि सरकारले तत्काल कुनै कदम चाल्नुपर्ने आवश्यकता जानकारले औँल्याएका छन्।

नेपाली कांग्रेसले आज काठमाडौँमा आयोजना गरेको नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँग छलफल कार्यक्रमका सहभागीले अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिलो भइसकेको बताएका हुन्। अब पनि कुनै कदम नचाले अर्थतन्त्र थप सङ्कटमा जाने उनहरूको भनाइ छ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको आर्थिक क्षेत्र सुधारका लागि सरकारले तत्काल केही महत्त्वपूर्ण कदम चाल्न आवश्यक रहेको बताए। अर्थतन्त्र सुधार्ने विषयलाई सरकार र संसद्ले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै थापाले यसका लागि सरकारले केही कठोर निर्णयसमेत गर्नुपर्ने उल्लेख गरे।

“अर्थतन्त्रमा देखिएका समस्या समाधानलाई मूल विषय बनाएर अघि बढ्नु अहिले हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। हाम्रो अर्थतन्त्रको एउटा खालको सीमा छ। निश्चित ढाँचा र ढर्राबाट चलिरहेको अर्थतन्त्रलाई संरचनागत सुधार र उपचार नगर्ने हो भने हामी कुनै न कुनै बेला थला पर्छौं”, उनले भने।

राजनीतिक दलहरूले आर्थिक एजेन्डालाई निकै कम प्राथमिकतामा राख्ने गरेको भन्दै महामन्त्री थापाले तत्काल कुनै निर्णय नगरे समस्या थप जटिल बन्ने बताए। अर्थतन्त्र सुधारका लागि उच्च मनोबल आवश्यक रहेको पनि थापाको भनाइ छ।

“सबैतिरबाट समस्यामा छौँ भन्ने छ। यो धारणा पनि हुनसक्छ। धारणामै भए पनि परिवर्तन आवश्यक छ। अर्थतन्त्रका समस्यालाई फराकिलो र गहिरो ढङ्गले समग्र चक्र नै विश्लेषणपछि समाधानका बाटा खोजिन्छ”, थापाले भने। केही महत्त्वपूर्ण कानूनलाई संसद्को चालु अधिवेशनबाटै टुङ्ग्याउन जरुरी रहेको पनि उनको भनाइ छ।

अर्थतन्त्र सुधारका लागि सरकार निर्मम ढङ्गले अघि बढ्नुपर्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डा स्वर्णिम वाग्लेको भनाइ छ।

“अर्थतन्त्रको संरचनागत सुधार सजिलो हुनेवाला छैन। आगामी अर्थमन्त्रीले सार्‍है अप्रिय निर्णय गर्नुपर्ने हुनसक्छ। त्यो अवस्था आइसकेको छ । अब टालटुले होइन निर्मम भएर जानुपर्छ”, उनले भने। संरचनागत सुधारमा ढिलाइ गर्दा समस्या थप बढ्दै जाने उल्लेख गर्दै वाग्लेले सरकार अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीतिसहित अघि बढ्नुपर्ने बताए।