टियु मैदानमा क्यानडासँग खेल्दै नेपाल

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दैछ । खेल टियु मैदानमा बिहान सवा ९ बजेदेखि सुरु हुँदैछ । 

क्यानाडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । टियु क्रिकेट मैदानमा आज पहिलो खेल हुनेछ भने १० फेब्रुअरी अर्थात माघ २७ गते दोस्रो तथा १२ फेब्रुअरी अर्थात माघ २९ गते तेस्रो खेल हुने क्यानले जनाएको छ ।

क्यानडाविरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिमको घोषणा गरेको छ । क्यानडाविरुद्ध रिजन ढकालसहित हेमन्त धामी र आकाश चन्दलाई पहिलो पटक टिममा सामावेश गरिएको छ भने करण केसी, दिपेन्द्र सिंह ऐरी लगायतलाई भने क्यानाडाविरुद्ध आराम दिइएको छ ।

क्यानडाविरुद्ध खेल्ने टिममा रोहित पौडेल कप्तान, आसिफ सेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भिम सार्की, आरिफ सेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सुर्य तामाङ, ललित राजबंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।

सन् २०१९ मा एकदिवसीय मान्यता गुमाएको क्यानडाले २०२३ क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गर्दै ४ वर्षका लागि एकदिवसीय मान्यता पुनः प्राप्त गरेको हो । त्यस्तै क्यानडाले आईसीसी टी २० विश्वकप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी२० विश्वकपमा समेत आफ्नो स्थान सुरक्षित गरेको छ ।