सर्वोच्चका प्रस्तावित न्यायाधीश र पोर्चुगलका प्रस्तावित राजदूतविरुद्ध ११ उजुरी

काठमाडौं- पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशहरुविरुद्ध ११ वटा उजुरी परेका छन्।

संसदीय सुनुवाई समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपाल र सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावित सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध ११ वटा उजुरी परेको समितिका सभापति ज्येष्ठ सदस्य० पशुपति समशेर राणाले जानकारी दिए।

बैठकमा समितिका सदस्यहरुलाई सो उजुरी र प्रस्तावित राजदूत तथा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको कार्ययोजना पनि अध्ययनका लागि वितरण गरिएको छ। पोर्चुगलका लागि प्रस्तावित राजदूत र सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशहरूको उजुरी र कार्ययोजना अध्ययनका लागि समितिका सदस्यहरुलाई वितरण गरिएको समितिका सभापति राणाले बताए।

संसदीय सुनुवाई समितिले गत मंसिर ९ गते बसेको बैठकले पोर्चुगलका लागि प्रस्तावित राजदूत र सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो।

संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूत र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
समितिको बैठक मंसिर २२ गते अपरान्ह साढे २ बजे बोलाइएको छ।