चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी भोलि नेपाल आउँदै, क–कसलाई भेट्दै छन् ? 

 काठमाडौँ - चीनको स्वशासित क्षेत्र तिब्बत सिजाङको चिनियाँ कम्युनिष्ट पार्टीका सचिव सेक्रेटरी वाङ च्युनचङ भोलि नेपाल भ्रमणका लागि आउने भएका छन् । सचिव च्युनचङ बुधबार काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।

नेपाल बसाईका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका बेला भएका सम्झौता र सहमति कार्यान्वयनका लागि पहल गर्ने स्रोतले जानकारी दिएको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले सोमबार प्रधानमन्त्री दाहाललाई भेटेर चिनियाँ कम्युनिष्ट पार्टीको नेपाल भ्रमणबारे जानकारी गराएका थिए ।

पाँच दिने भ्रमणमा काठमाडौं आउन लागेका उनले उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीसहित शीर्ष नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । सचिव च्युनचङले बुधबार नै उपराष्ट्रपति रामसहाय यादवसँग भेटवार्ता गर्नेछन् । त्यसको भोलिपल्ट बिहीबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सामान्य प्रशासनमन्त्री अनिता देवीसँग भेटवार्ता गर्नेछन् । उनी शुक्रबार पोखरा जाने कार्यक्रम छ । पोखरा बसाईको क्रममा उनले शनिबार आयोजना हुने नेपाल–चीन कल्चरल एक्सचेन्ज कार्यक्रममा सहभागी हुनेछन् ।

सचिव च्युनचङ शनिबार नै काठमाडौं फर्केर गृहमन्त्री नारायणकाजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले आइतबार भूकम्पबाट क्षति भई चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको भक्तपुरका आयोजनाहरूको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ । त्यसपश्चित उनी आइतबार नै श्रीलंकाको कोलम्बो प्रस्थान गर्नेछन् ।