राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले आज बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी जितियाजस्ता मौलिक पर्वले सामाजिक एकता र सद्भाव प्रवद्र्धनमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा जितियाजस्ता मौलिक चाडपर्वले बेग्लै पहिचान स्थापित गर्दै आएको बताउँदै राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा यस्ता मौलिक चाडपर्वका माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको आफूले महसुस गरेको उल्लेख गरेका छन् ।

नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वद्र्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सिर्जना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक भएको राष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन् । “प्रकृति पूजामा आधारित यस पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना गर्दछु”, सन्देशमा राष्ट्रपतिले भनेका छन् ।

जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुख–शान्तिका लागि भगवान् जिमुतवाहनको पूजा आराधना गर्दै उत्साहका साथ मनाइने पर्व हो । यस पर्वमा थारू तथा मधेसी महिला कठोर उपवास बस्ने गर्दछन् ।

यसै अवसरमा दिएको सन्देशमा उपराष्ट्रपति यादवले तराई–मधेसका आदिवासी, रैथाने समुदायरजातजातिले आआफ्नो परम्परा, रीतिरिवाज र संस्कृतिअनुसार एकीकृत भई संयुक्त र सामूहिकरुपमा मनाउनाले हाम्रो विविधतायुक्त संस्कृति र पहिचानलाई अक्षुण्ण राख्न सहयोग गरेको बताएका छन् । उनले जितियाजस्ता पर्वले नेपालीबीचको एकतालाई बढावा दिने सन्देशमा उल्लेख गरेका छन् ।

साथै उपराष्ट्रपतिले समाजमा सामाजिक एवं धार्मिक सहिष्णुता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, भाइचारा, मेलमिलाप, सद्भाव कायम गर्नु यस्ता पवित्र पर्वका उद्देश्य हुन् भनेका छन् ।

यसै उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको शुभकामना सन्देशमा जितिया पर्वले समाजमा व्याप्त अन्धविश्वास र विभेदलाई अन्त्य गर्दै समानता, समृद्वि र सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । सामाजिक सम्बन्धको सन्तुलन, आपसी सहकार्य, सद्भाव र सहिष्णुता कायम गर्न जितिया पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

तराई–मधेसका थारुलगायत समुदायले पारिवारिक समृद्वि र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाउने यस मौलिक पर्वको आफ्नै विशिष्ट मौलिक पहिचान र विशेषता रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

“बहुजातीय, बहुसांस्कृतिक नेपाली समाजको पहिचानलाई आत्मसात् गरी सामाजिक–सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्नु अपरिहार्य आवश्यकता भएको छ”, शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन् ।

यसै अवसरमा सभामुख देवराज घिमिरे समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माण गर्न जितियालगायत सांस्कृतिक पर्वले ठूलो योगदान गर्ने बताएका छन् । जितिया पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता, सद्भाव कायम गर्ने विश्वास सभामुखले व्यक्त गरेका छन् ।