विदेश पठाइदिने भन्दै दुई करोड ठगी गर्ने  गुनेशकुमार पक्राउ

काठमाडौँ ।  विदेश पठाउने भनेर झण्डै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जना मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धरास्थित ओम इन्टरन्याशनल प्रालिका सञ्चालक गुनेशकुमार ठाकुरलाई पक्राउ गरेको हो।

सिराहाको करजन्हा नगरपालिका–६ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्ने ठाकुरलाई इमाडोलबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक एसपी काजीकुमार आचार्यले बताए।

ठाकुरले रविन्द्र सापकोटासँग साझेदारी गरेर ओम इन्टरन्याशनल प्रालि चलाइरहेका थिए। उनले यूएई, कतार, साउदी अरब, मलेशिया र कुवेत पठाउने भनेर युवाबाट रकम लिएको पाइएको एसपी आचार्यले बताए।

विदेश पठाउने भन्दै ठाकुरले ८५ युवाबाट रकम लिएको पाइएको छ। सबै गरेर एक करोड ९७ लाख १७ हजार रुपैयाँ ठगेको देखिएको एसपी आचार्यले बताए।

साउन २१ मा पक्राउ परेका उनलाई ठाकुरलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले बुधबार वैदेशिक रोजगार विभागलाई बुझाएको छ।