पर्वत, तनहुँ र स्याङ्जामा पहिरोमा पुरिएर सातजनाको मृत्यु

काठमाडौँ । अविरल वर्षापछि पहिरोमा परी पर्वत, तनहुँ र स्याङ्जामा सातजनाको मृत्यु भएको छ ।

पर्वतको फलेवास नगरपालिका–१, कार्किनेटाका कुलप्रसाद पाध्याको घर शनिबार दिउँसो पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ । कुलप्रसादका ४० वर्षीय छोरा झलकप्रसाद शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३, पाखरीगोर ढुंगाका ३२ वर्षीय तुलसीप्रसाद शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका–७, काउरेका ४० वर्षीया हीरा नेपाली र सुनमाया कुमालको घर पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ । पहिरोले पुरिएर हीरा र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरो खस्दै गर्दा घरभित्र रहेका सामान स्थानीयवासी मिली निकाल्न जाने क्रममा हीरासहित तीनजना बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवैजनाको शव फेला परेको हो । बेपत्ता एकजनाको प्रहरीले खोजी गरिरहेको छ ।

उता, स्याङ्जाको बिरुवा गाउँपालिका–६, लामाखेतका ईश्वरी लम्सालको घर शनिबार बिहान पहिरोले पुरिँदा तीनजनाको मृत्यु भएको छ । बिरुवा–६, स्याङ्दी माझकोटका ६५ वर्षीया गुइश्वरी शर्मा मरासिनी, ७१ वर्षीय माधव शर्मा र उनकी श्रीमती ६७ वर्षीया हरिमाया शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।