भूकम्प प्रभावितको अबस्था बुझ्न प्रधानमन्त्री दाहाल बझाङ प्रस्थान

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न बझाङ प्रस्थान गरेका छन् ।  प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकोप्टरबाट बझाङ प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले भूकम्पले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन गर्ने जिल्ला विपद व्यवस्थापन समितिसँग छलफल गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री दाहालले बझाङ भूकम्प पीडितलाई राहत दिने प्रक्रिया तत्कालै सुरु हुने बताएका छन् ।

सिंहदरबारमा बिहीबार विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा उनले प्रभावित नागरिकलाई राहतका साथै क्षति भएका संरचनाको पुनर्निर्माणको प्रक्रिया अघि बढाइने बताएका हुन् ।

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रविन्दु भएर मंगलबार गएको भूकम्प र त्यसपछिका पराकम्पले जिल्लामा धनजनको क्षति पु्र्‍याएको छ। भूकम्पमा परी एकजनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन्। दर्जनौं घर भत्किएका छन्।