काठमाडौँ महानगरभित्र बाढीजन्य विपद् परे सहयोगका लागि यी नम्बरमा गर्नुस् सम्पर्क  

काठमाडौँ । शुक्रबार राति देखि नियमित परिरहेको वर्षाका कारण काठमाडौँका बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते लगायतका सहायक नदीहरूमा पानीको बहाव उच्च भएको छ। सडकमा पानी जम्मा भएको छ। कति ठाउँका नदी किनारमा पानी प्रवेश भएको छ। केही ठाउँमा डुबानमा परेका छन्।

पानी नियमित परिरहेकाले नदीहरूमा जल प्रवाह अझै बढ्न सक्ने देखिएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नदी किनारामा रहेका व्यक्तिहरूलाई उच्च सतर्क रहन आग्रह गर्दै बाढीजन्य विपद् परेमा बाढीजन्य विपद् परेमा महानगरपालिकाका हटलाइन १६६००१०५५११, ११८० र महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्न अनुरोध गरेका छन्। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असार २१ गतेदेखि २७ गतेसम्मको मौसम पूर्वानुमान गर्दै देशभर साधारणतया र पूर्णतया बदली रहने जनाएको छ। सबै प्रदेशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताएको छ।