जसपाले भन्यो-'भ्रममा नपरौं बहुमत केन्द्रीय सदस्य पार्टीमै छन्'

काठमाडौँ - जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको दावी गरेको छ । जसपा नेपालका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै हाल जसपा नेपाल विभाजन भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै अहिले दल बिभाजनको अवस्था नरहेको बताएका छन् । जनता समाजवादी पार्टी जसपाले पार्टीबाट विद्रोह गरेर नयाँ दल दर्ताका लागि अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा दर्ता गराएको निवदेनलाई असंवैधानिक भनेको छ ।

पार्टी प्रवक्ता मनिष कुमार ‘सुमन’ ले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी विभाजनको मनस्थिति बोकेर आयोग पुगेकाको विषयप्रति गम्भीर नहुन पनि केन्द्रीय सदस्य लगायतलाई आग्रह गरेका छन् । ‘हाल संसद अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजन सम्बन्धी अध्यादेश खारेज रहेको साथै यस दलको बहुमत केन्द्रीय सदस्य यस दल प्रति नै प्रतिवद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई असंवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य लगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नु हुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।