बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

चितवन - धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन गर्न नसकेर अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने भएको छ। सोमबारको मन्त्रीपरिषद् बैठकले रङ्गशाला बनाउने निर्णय गरेसँगै रङ्गशाला बन्नेमा स्थानीय आशावादी भएका हुन्।

भरतपुर महानगरपालिकाले फाउण्डेशनलाई निर्माणका लागि सम्झौता गरेको भएपनि ठूलो रकम बक्यौता तीर्नुपर्ने अवस्था आएपछि फाउण्डेशन पछाडि हटेसँगै सरकार आफैँले निर्माण गर्न लागेको हो।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मन्त्रीपरिषद्बाट निर्णय भएकाले अब रङ्गशालाको काम अघि बढ्ने बताइन्। फाउण्डेशनले उधारोमा काम नगरेको भए यस अघि नै प्रक्रिया अघि बढ्ने बताउँदै उनले भनिन्, “ठूलो रकम तीर्नुपर्ने बाँकी देखिएकाले प्रक्रिया मिलाउन समय लागेको हो । अब काम अघि बढ्छ ।”

महानगरसँग सम्झौता गर्दा ऋण बक्यौताको विषय उल्लेख नभए पनि फाउण्डेशनले आर्थिक सङ्कलन गर्न नसकेर ठूलो रकम बक्यौता भएपछि महानगरपालिकालाई स्वामित्व लिन आग्रह गरेको थियो।

महानगरलाई हस्तान्तरण गर्दैगर्दा फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रु १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको बताएका थिए। सरकारले रु १२ करोड ऋण तीर्नका लागि रकम दिने गरी स्वामित्व लिने निर्णय गरेको हो ।

फाउण्डेशनले महानगरसँगको सम्झौताका क्रममा गरेको प्रतिबद्धताअनुसार आर्थिक पारदर्शीता नदेखाउँदा प्रश्नचिन्ह खडा हुँदै आएको छ । नेपाल सरकारको सार्वजनिक खरिद ऐनलाई वेवास्था गरी मनोमानी ढङ्गले खर्च गरेको र विवरण सार्वजनिक नगरेको फाउण्डेशनमाथि आरोप छ ।

महानगर प्रमुख दाहालले फाउण्डेशनले काम गर्न नसके पनि महानगरले गौरवको आयोजनाको रूपमा रङ्गशालालाई लिएकै कारण पहल कदमी गरेर अघि बढाएको बताइन्। उनले भनिन्, “निकै मिहिनेतपछि हामी रोकिएको रङ्गशाला बनाउने काम नियमित गर्ने चरणमा पुगेका छौँ ।”

रङ्गशाला निर्माण क्षेत्र चितवन क्षेत्र नं ३ मा पर्दछ । सोही क्षेत्रबाट अघिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए। त्यति बेलादेखि नै दाहाल यहाँ रङ्गशाला बन्नुपर्नेमा सकारात्मक रहँदै आएका थिए ।

भरतपुर महानगरपालिका–१५ मा रङ्गशाला निर्माण सुरु भएको छ । झण्डै दुई वर्षदेखि रङ्गशाला अलपत्र अवस्थामा रहेको थियो । फाउण्डेसनले विभिन्न व्यक्ति र संस्थालाई रु १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको जनाएको छ ।