काठमाडौंमा ट्राफिक जामका कारण वार्षिक एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति

काठमाडौँ -काठमाडौं उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक रु एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ ।

सवारी जाम हुँदा त्यसबाट सिर्जना हुने वायु र ध्वनि प्रदूषण, तेलको खपत, सवारी साधनमा हुने ह्रास, स्वास्थ्यमा पर्ने समस्या, दुर्घटना जस्ता कारणले आर्थिक क्षेत्रमा रु एक खर्ब १६ अर्ब बराबरको क्षति हुने गरेको काठमाडौँ महानगरपालिकाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए ।  उनले भने, “यो ठूलो क्षति हो, यसलाई न्यूनीकरण गर्नका लागि कामपाले ट्राफिक जाम कम गर्ने भन्नेबारे अध्ययन गरिरहेको छ ।”

उक्त समस्या न्यूनीकरणको विषयमा कामपाले अध्ययन गरिरहेको भए पनि यसका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था कार्यालय, सडक विभागसहित सरोकारवालाको सकारात्मक भूमिका रहनुपर्नेमा उनले जोड दिए ।