क्रिकेट विश्वकप आजदेखि, उद्घाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

काठमाडौँ - आईसीसी एकदिवसीय पुरुष क्रिकेट विश्वकप २०२३ प्रतियोगिता आज बिहीबारबाट भारतमा सुरु हुँदैछ ।

उद्घाटन खेलमा साविक च्याम्पियन इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल दिउँसो सवा २ बजे अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ ।

राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका गरी १० टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चारमा पर्ने टोली सेमिफाइनलमा पुग्नेछ ।

खेलहरू भारतको अहमदाबाद, धर्मशाला, नयाँ दिल्ली, मुम्बई, पुने, चेन्नई, हैदराबाद, कोलकाता, लखनउ र बैंग्लोर गरी दश सहरको रंगशालामा हुने छ ।

फाइनल खेल नोभेम्बर १९ तारिखमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।