'प्रधानमन्त्रीले अराजक किसिमले बोल्न मिल्दैन' :  शेखर कोइराला

 काठमाडौँ - सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्री दाहालले बोल्न नहुने उनको भनाई थियो ।

पार्टी निकट कर्मचारीहरुको संगठन नेपाल निजामति कर्मचारी युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री दाहाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अराजक खालको पछिल्लो अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए । उनले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई पार्टीले गम्भिरतापूर्वक लिनुपर्ने समेत बताए । नेता कोइरालाले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर पार्टी निकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन पार्टी सभापति शेरबहादुर देउवालाई पनि सुझाव दिए ।