काठमाडौँको सडकमा युवकमाथि खुकुरी प्रहार गर्ने तीनजना पक्राउ

काठमाडौँ । काठमाडौँको आलोकनगरस्थित सौराहा होटेलनजिक सडकमा एक युवामाथि खुकुरी प्रहार गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीका १८ वर्षीय अनिष मगर, दैलेखका २६ वर्षीय कुमार पण्डित र दार्चुलाका १९ वर्षीय प्रेमसिंह महरा छन् ।

आलोकनगरमा बस्दै आएका कैलालीको धनगढीका २२ वर्षीय मनत केसीमाथि आइतबार (हिजो) दिउँसो उनीहरूले खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहार गर्दा मनतको दाहिने हातको औँला पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घटनापछि खोजतलासका क्रममा आइतबारै बेलुका काठमाडौँका विभिन्न स्थानबाट खुकुरीसहित आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी गराएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।