कृषिलाई कर नीतिमार्फत संरक्षण गर्छौं : अर्थमन्त्री पुन  

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले आगामी वर्षको बजेटमार्फत आफ्नो कृषि उत्पादनलाई नीतिगत रूपमा संरक्षण गर्ने बताए । उनले सरकारले लिएको नीतिले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । 
 
उनले सरकारले २०८१–२०९१ लाई कृषि दशक घोषणा गरेको उल्लेख गर्दै राजनीतिक नेतृत्व र मन्त्रीहरू फेरिए पनि नीति नफेरिने प्रतिवद्धता जनाए । 

उनले नीतिगत स्थायित्व भएमात्रै देश विकास हुने बताए । चालु आर्थिक वर्षमा कृषि उत्पादनहरूमा भ्याट लगाए पनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको स्पष्ट पारे । 
 
अर्थमन्त्री पुनले नेपालले आईटी क्षेत्रमा विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने बताए । उनले पर्यटन, जलविद्युत् क्षेत्रमा विश्वसँग प्रतिस्पर्धा गरिरहेको बताए । 

पर्यटन क्षेत्रमा यस वर्ष मात्रै २१ प्रतिशतको ग्रोथ रेट रहेको बताए । अन्य सबै क्षेत्रमा शिथिलता भएको अवस्थामा पनि पर्यटनमा २१ र जलविद्युत् क्षेत्रमा १९ प्रतिशतको वृद्धि रहेको रहेको बताए ।