गंगा आरतीको भिडियो खिच्न निषेध सूचनाप्रति पशुपति विकास कोषको आपत्ति 

 

काठमाडौं । पशुपति विकास कोषले पशुपति आर्यघाट क्षेत्रमा हुने गंगा आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्न निषेध गरिएको सूचनाप्रति आपत्ति जनाएको छ ।

शुक्रबार कोषले एक विज्ञप्ति जारी गर्दै बुढासुब्बा डिजिटल प्रालिले कोषको समेत नाम राखेर सूचना प्रकाशित गरेकोमा आपत्ति जनाएको हो । यस विषयमा कोषको कुनै संलग्नता नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनद्वारा जारी विज्ञप्तिमा उक्त सूचनामा ‘कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको छ । सूचनाप्रति कोषको कुनै पनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं,’भनिएको छ ।

यसअघि बुढासुब्बा डिजिटलले पशुपति क्षेत्र विकास कोषको समेत लोगो राख्दै पशुपति आर्यघाट क्षेत्रमा हुने गंगा आरती र दीप प्रज्ज्वलनको भिडियो खिचेर फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको पाइएमा डिजिटल कपीराइट ऐनअन्तर्गत कारवाही हुने सूचना प्रकाशित गरेको थियो । त्यसको चर्को आलोचना भएपछि कोषले विज्ञप्ति निकालेको हो ।