भूकम्प पीडितहरूको उद्धार, राहत र घाइतेको उपचारमा सहयोग गर्न एमालेको आग्रह

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितहरूको उद्धार र घाइतेहरूको उपचारमा परिचालित हुन पार्टी पङ्तीलाई आह्वान गरेका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत देशभरिका साथीहरूले राहत र घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिन आग्रह गर्दै विशेषगरी सुर्खेत, नेपालगञ्ज, काठमाडौंका पार्टीका कमिटीहरूले उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक रगत संकलनमा सहयोग गर्न निर्देशन गरेका छन् ।

उनले भूकम्पमा ज्यान गुमाएका सबै दिदीबहिनी दाजुभाइप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले विपत् र शोकको यस समयमा पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा उत्सव सम्बन्धी सबै कार्यक्रमहरू स्थगित गर्न देशभरका सबै पार्टी निकायहरूलाई आग्रह गरेका छन् ।