मधेस प्रदेशका सबै सीडीओसँग गृहमन्त्रीको समसामयिक सुरक्षा चुनौतीबारे छलफल

बर्दिबास - उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग रिपोर्टिङ लिइरहेका छन् ।

महोत्तरीको बर्दिबासमा जारी अन्तरक्रियात्मक बैठकमा यतिबेला प्रमुख जिल्ला अधिकारीहरूले रिपोर्टिङ गरिरहेका छन् । यसपछि सुरक्षा निकायका प्रमुखहरूको रिपोर्टिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन दिनेछन् ।

प्रमुख जिल्ला अधिकारीहरूले प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको, मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा कतिपय गलत नियतभएका व्यक्तिबाट वाधाव्यवधान खडा गर्न खोजिएको, कतिपय पालिकाका जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा गरेको, सामाजिक संजालमा आउने कतिपय सामाग्रीले उत्तेजना निर्माण गर्न खोजेको लगायतका समस्या उजागर गरेका छन् ।