रोहित पौडेल र रोहित शर्माबीचको टस नेपालको लागि ऐतिहासिक हुने

काठमाडौँ - श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा हुने समूह ए अन्तर्गतको खेलमा नेपाल र भारतबीच खेल दिउँसो नेपाली समयअनुसार ३ः१५ बजे हुनेछ । नेपाली टोलीका कप्तान रोहित पौडेल र भारती टोलीका कप्तान रोहित शर्माबीच दिउँसो २ः४५ बजे टस हुनेछ । जुन नेपाल र नेपालीको लागि महत्वपूर्ण ऐतिहासिक क्षण बन्नेछ । नेपाल र भारतबीचको खेलको हरेक क्षण नेपालका लागि महत्वपूर्ण रहनेछ ।

भारत छिमेकी राष्ट्र भए तापनि उसँग खेल्न नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा २७ वर्ष कुनुपर्‍यो । सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले पहिलोपटक भारतसँग खेल्ने मौका पाएको हो । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमने–सामने हुन लागेका हुन् ।