भारतसँग जितेको नेपाल इरानसँग भिड्दै

काठमाडौँ - काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरान भिड्दैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ। लिगमा अपराजित रहेको नेपाल सोही लयलाई निरन्तरता दिन चाहन्छ । शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला टोली उच्च मनोबलमा छ ।

उता इरान भने घरेलु टोली नेपाललाई स्तब्ध पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लन चाहन्छ। लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। एक खेल बढी खेलेको इरान पनि ५ अंकमा तेस्रो स्थानमा छ। समान ३ खेल खेलेको भारत ७ अंकमा तालिकाको शीर्ष स्थानमा छ ।

२ खेलबाट १ अंक बनाएको श्रीलंका चौथो र त्यति नै खेलबाट अंक विहिन मालदिभ्स भने अंक तालिकाको पुछारमा छ । नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई सोझो सेटमा पाखा लगाएको थियो । दोस्रो खेलमा भने शनिबार भारतलाई ३–१ को सेटमा हराएको थियो ।

इरानले भने शनिबार नै भएको खेलमा मालदिभ्सलाई सोझो सेटमा हराएको थियो। श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको इरानले भारतविरुद्ध भने ३–१ को सेटमा पराजित भएको थियो ।

आजै हुने आइतबारको पहिलो खेलमा श्रीलंका र मालदिभ्स खेल्नेछन् । सो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ। मालदिभ्स र श्रीलंका पहिलो जितको खोजीमा छन् ।