विद्युत् व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् ।

अरूण–३ जलविद्युत् परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताए ।

सुक्खायामको माग पूर्ति गर्न बूढीगण्डकी, दूधकोसी र नलसिंगाड जलाशययुक्त जलविद्युत् आयोजना तथा नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको निर्माण कार्य सुरू गर्ने तयारी गरिएको प्रधानमन्त्री प्रचण्डले बताए ।

वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा घुन्सा र सिम्बुवा जलविद्युत् आयोजना निर्माण कार्य अगाडि बढाइने पनि जानकारी दिए ।