नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने 

काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तमाथि आजदेखि थुनछेक बहस सुरु हुने भएको छ ।
जिल्ला अदालत काठमाडौंमा पक्राउ परेका १८ जना अभियुक्तको बयान शुक्रबार सकिएको थियो । बयान सकिएसँगै आजबाट थुनछेक बहस हुन लागेको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाँण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिइएको थियो । त्यसअघि बिहीबारसम्म १५ जना अभियुक्तको बयान सकिएको थियो । उनीहरूलाई धरौटीमा छाड्ने की थुनामै राख्ने भन्ने निर्णय गर्न थुनछेक बहस हुन लागेको हो ।