बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतीपूर्ण रहेको एमाले सचिव बिष्टको टिप्पणी  

काठमाडौँ । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले सरकारले ल्याएको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतिपूर्ण रहेको  टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै उनले अर्थमन्त्री वर्षमान पुनले बजेट सन्तुलित ल्याएको बताए।

उनले सरकारले करका दर यथावत वा तयारी वस्तुभन्दा कच्चा पदार्थमा पैठारी महशुल कम्तिमा १ प्रतिशत कम गर्नु बजेटको सकारात्मक पक्ष रहेको उल्लेख गरे।

सांसद विष्टले चालु खर्च ६१ प्रतिशत,पुँजीगत १९ प्रतिशत,वित्तीय व्यवस्था २० प्रतिशतको जुन कहालि लाग्दो अवस्था देखापरेको बताए।

उनले यसका लागि सार्वजनिक पुनरावलोकन उच्चस्तरीय आयोगको सिफारिसलाई कार्यान्वयन गर्नको लागि संसदमा साझा सहमतिका साथ अगाडि जान नसके विकास र पुँजीगत खर्च केवल सपनामा मात्रै सीमित हुने अवस्था रहेको दाबी गरे।

सांसद विष्टले आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब उठाउने अपेक्षा राखिएको भएपनि सरकारले आन्तरिक ऋण बढी लिएको अवस्थामा निजी क्षेत्रमा जाने कर्जा संकुचित हुने, बैंकको ब्याजदर बढ्ने, निजी क्षेत्रले उत्पादनवृद्धि र रोजगारी गर्ने सम्भावना कम हुने भन्दै यो विषयमा अर्थमन्त्री गम्भीर हुन सुझाव दिए।

उनले सरकारले उत्पादनमुलक क्षेत्रमा लगानी वृद्धि नगरेसम्म ६ प्रतिशतको आर्थिक वृद्धिको सम्भावना पनि कम रहेको बताए।