अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न माग

 भोजपुर - नौ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावित जग्गाधनीले आफनो क्षेत्रमा पुन सर्भेको माग गरेका छन् ।

सङ्खुवासभाबाट भोजपुर हुँदै पुग्ने चार सय केभी प्रशारण लाइनका टावर निर्माणमा स्थानीयसँग समन्वय नै नगरी काम अगाडि बढाउन खोजिएको भन्दै भोजपुरको टेम्कैमैयुङ गाउँपालिकाका जग्गाधनीले पुन सर्भे गर्न माग गरेका हुन् ।

उनीहरु सङ्घर्ष समिति निर्माण गरी विरोत्र उत्रिएका छन्। बस्ती र खेतीयोग्य जमिन नछली सर्भे गर्दा आफूहरु विस्तापित हुने अवस्था आएकाले पुनः सर्भेको माग गरिएको सङ्घर्ष समितिका संयोजक पावीहाङ राईले बताए।

आयोजना निर्माणका विषयमा देखिएका समस्या र चुनौतीका विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय भोजपुरले सोमबार आयोजना गरेको अन्तरक्रियामा राईले आयोजना मुलुकको हितमा भए पनि जबरजस्ती अघि बढाउन खोजिए आफूहरुलाई मान्य नहुने स्पष्ट पारे। कार्यक्रममा उनीहरुले बस्ती विस्तापित हुने गरी गरिएको सर्भे परिवर्तन नगरेसम्म टावर राख्न नपाइने अडान राखेका छन्।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले आयोजना र सर्र्भेका विषयमा सम्बन्धित निकायले उचित समन्वय नगर्दा समस्या देखिएको बताए। उनले आयोजनाको आइपिओ निष्कासनको समयमा भोजपुरलाई पनि प्रभावित क्षेत्र मान्नुपर्ने माग रहेको बताए।