प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य, एक सय ८० दिनमा ६५ बैठक

 काठमाडौँ - प्रतिनिधिसभाको चालु अधिवेशन गइ राति १२ः०० बजेदेखि समाप्त भएको छ । बैठकमा सोसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले नेपालको संविधानअनुसार गए राति १२ः०० बजेदेखि संसद्को चालु अधिवेशन स्वतः सकिने जानकारी गराए ।

बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीले टेवल गरेका थिए । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘राष्ट्रिय दलित आयोगको दोस्रो र तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

प्रतिनिधिसभाको दोस्रो अधिवेशन २०८० साल वैशाख २४ गते आइतबार प्रारम्भ भई कात्तिक १६ गते बिहीबारसम्म जम्मा एक सय ८० दिन चालु रह्यो । जसमध्ये ६१ दिनहरूमा ६५ पटक बैठक बसी संसदीय काम–कारबाहीमा व्यतीत भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । साथै यस अवधिमा सङ्घीय संसद्को संयुक्त सदनको जम्मा छवटा बैठक बसेको थियो ।