बालुवाटारमा प्रधानमन्त्री र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र अल्ब्राइटबीच भेटवार्ता भएको हो । भेटमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिको उपस्थिति रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।

आइतबार साँझ काठमाडौं आइपुगेको अल्ब्राइटसहितको टोलीले सोमबार च्यासल पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो । आचार्यले प्रधानमन्त्री र अल्ब्राइटसहितको एमसीसी टोलीबीच सिष्टाचार भेट भएको बताए ।