भारतविरुद्ध सम्मानजनक स्कोर बनाएर नेपाल पराजित

काठमाडौँ - चीनमा भइरहेको एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।
भारतले दिएको विशाल स्कोर पच्छ्याएको नेपाल जवाफमा सम्मानजनक स्कोर बनाएर पराजित भएको हो । नेपाल भारतसँग २३ रनले पराजित भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०२ रन बनाएको थियो । जवाफमा नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७९ रन बनायो ।

भारतका लागि यशस्वी जैसवालले सर्वाधिक १०० रन बनाए । ४९ बल खेलेका उनले ८ चौका र ७ छक्का हाने । रिंकु सिंहले ३७, शिवम दुबै र ऋतुराज गायकवाडले समान २५ रन बनाए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

नेपालका लागि ब्याटिङतर्फ कुशल भुर्तेलले २८, आसिफ शेखले १०, कुशल मल्लले २९, दिपेन्द्र सिंह ऐरीले ३२, सन्दिप जोराले २९ र करण केसीले १८ रन बनाए । भारतका लागि रवि विश्नोइ र आवेश खानले ३–३ विकेट लिए । अर्शदीप सिंहले २ र साइ किशोरले १ विकेट लिए । यो पराजयसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।