तत्कालीन सरकारले छिमेकीलाई चुच्चे नक्साको विवरण पठाएको देखिएन : परराष्ट्र मन्त्री

ओखलढुंगा - परराष्ट्र मन्त्री एनपी साउदले पछिल्लो समय देखिएको नक्साको विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको कार्यालयमा आज (आइतबार) पत्रकारसँगको कुराकानीमा उनले कूटनीतिक संवाद र छलफलबाट पछिल्लो समय देखिएको नक्साबारेको विवाद समाधान गरिने बताएका हुन् । ‘हामी हाम्रो नक्सामा प्रतिवद्ध छौं । धेरै विवाद गरिरहने भन्दा सबै देशसँग कूटनीतिक संवाद र छलफलबाट समाधान गर्छौ,’ साउदले भने, ‘हामी हाम्रो नक्साको सबै छिमेकी मुलुक र अन्य देशले पनि सम्मान गरुन् भन्ने चाहन्छौँ ।’

‘२०७५ सालमा संसद्बाट पास गरेपछि छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायसम्म नक्सा गइसकेको जानकारी भेटिएन,’ साउदले भने, ‘तत्कालीन अवस्थामा जिम्मेवारीमा रहेका साथीहरूले नक्साबारे जानकारी पठाएको बताएका थिए । तर नक्सा पठाइएको कूटनीतिक विवरण भेटिएन ।’

चीनले एक साताअघि सार्वजनिक गरेको नक्साबारे सरकारले स्पष्ट पारिसकेको बताए । उनले सबै देशले नेपालको नक्साको सम्मान गर्नुपर्ने पनि बताए । चीनले यही अगष्ट २८ तारिखमा नेपालले नयाँ नक्सामा समावेश गरेको लिपुलेक र लिम्पियाधुरासहितको भूभाग भारतमा परेको उल्लेख थियो । कालापानी समेत भारतमा देखाइएपछि नेपाल रुस्ट छ ।
यसबारे परराष्ट्र मन्त्रालयले सन् २०२० मै नेपाली संसदबाट सर्वसम्मतिले स्वीकृत नक्सामा नेपाल दृढतासहित स्पष्ट उभिएको जनाएको छ । परराष्ट्रले नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने पनि बताएको छ ।