चामलको मूल्य बढाए कारबाही गर्ने चेतावनी

 काठमाडौँ - पछिल्लो केही दिनयता बजारमा चामलको मूल्य महँगिएको छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाएर व्यापारीहरूले भाउ बढाउन थालेका हुन् । बजारमा खपत हुने अधिकांश ब्रान्डका चामलको मूल्य बढेको छ । उपभोक्ता अधिकारकर्मीले व्यापारीले मौज्दात रहेको चामलकै मूल्य बढाउँदासमेत राज्यका जिम्मेवार निकाय मौन बसेको आरोप लगाउँदै आएका छन् । 

राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले भारत सरकारले लङग्रेन वा बासमती चामलबाहेक अन्य चामलको निकासीमा प्रतिबन्ध लगाएको घोषणा गरेको र प्रतिबन्धको बहानामा व्यापारीले मनलाग्दी तरिकाले चामलको मूल्य बढाएको बताए । 

 “भारतले घोषणालगत्तै व्यापारीले आफूसँग मौज्दात रहेको चामलसमेत प्रतिबोरा २५० देखि तीन सय रुपियाँसम्म वृद्धि गरेका छन्, जसको असर सर्वसाधारण उपभोक्तामा परेको छ,” उनले भने । केही सीमित व्यापारीले मौज्दात रहेको चामल मनलाग्दी मूल्यमा बिक्री गर्दासमेत राज्यका नियमनकारी जिम्मेवार निकायले हस्तक्षेप गर्न नसकेको उहाँले आरोप लगाए ।