काभामा नेपाल र भारत भिड्दै

 काठमाडौँ - नेपाल र भारत सेन्ट्रल एसिया भलिबल एसोसिएसन काभा महिला भलिबल नेसन्स लिगमा शनिबार आमनेसामने हुँदै छन् । नेपालको यो दोस्रो खेल हो भने बिहीबार सुरु प्रतियोगितामा भारत लगातार तेस्रो दिन कोर्टमा उत्रने छ ।

भारतले शुक्रबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरी नेपालसँगको खेललाई तयारी पूरा गरेको थियो । भारतले माल्दिभ्सको चुनौती सजिलै पन्छाउने क्रममा २५–६, २५–११, २५–१० को नतिजा निकालेको थियो । भारतले पहिलो दिन इरानमाथि २५–२०, २५–१८, १९–२५, २५–११ ले सेट जितेको थियो ।

नेपालले पहिलो दिन श्रीलंकालाई २५–१९, २५–१८, २५–१९ ले पराजित गरी सुखद सुरुआत लिएको थियो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा नेपाल र भारतबीचको खेलले सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनल स्मरण गराउने छ । पहिलो दुई सेट जितेर स्वर्ण पदक नजिक पुगेको नेपाल अन्तिममा पराजित भएको थियो ।

यस नेसन्स लिगमा राउन्ड रोबिन लिग सहभागी ५ राष्ट्र प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनल पुग्ने प्रावधान छ । नेपालका प्रशिक्षक जगदीश भट्टले माल्दिभ्सबाहेक प्रतिस्पर्धी अन्य चार टोलीको समान हैसियत भएको जनाएका थिए ।