नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँ नाघ्यो

 काठमाण्डौँ - नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँ नाघेको छ । इन्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएसँगै निगमको १५ दिनको नाफा एक अर्ब ६० करोड रुपैयाँ पुगेको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । यो हिसाबबाट सरकारी स्वामित्वको कम्पनी नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँभन्दा बढी भएको हो ।

पेट्रोलियम पदार्थको मूल्य बढ्दा उपभोक्ताको भान्सामा प्रयोग हुने दैनिक उपभोग्य वस्तुको भाउसमेत बढ्ने गर्छ । तर निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा भाउ घटिरहँदा पनि पुरानो घाटा देखाउँदै मूल्य घटाएको छैन ।

अहिले निगमले उपभोक्तालाई बेचिरहेको पेट्रोलबाट लिटरमै १२ रुपैयाँ, डिजलमा १३ रुपैयाँ, मट्टीतेलमा २७ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ३७ र बाह्य हवाई इन्धनमा प्रतिलिटर ५७ रुपैयाँ नाफा लिइरहेको छ । खाना पकाउने ग्यासमासमेत निगम प्रतिसिलिन्डर सात सात रुपैयाँ नाफामा छ ।