मिटरब्याजसम्बन्धी विधेयक, संशोधन दर्ताका लागि स्वीकृत

 काठमाण्डौँ - मिटरब्याज पीडितको समस्या सम्बोधनका लागि जारी अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभाले संशोधन दर्ता प्रक्रियाका लागि अनुमोदन गरेको छ । प्रतिनिधि सभामा सन्देशसहित टेबुल भएको विधेयकलाई आइतबारकै दोस्रो बैठकले संशोधन प्रक्रियाका लागि अनुमोदन गरेको हो । विधेयकमा संशोधन दर्तापछि दफाबार छलफलको प्रक्रियामा लगिने छ । 

आइतबार नै सैद्धान्तिक छलफलपछि विधेयकलाई संशोधन दर्ताका लागि अनुमोदन गरिएको हो । सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफका क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजपीडितले न्याय पाउने बताए । कसुरमा दोषी देखिए कानुनबमोजिम कारबाही हुने बताए । मन्त्री गुरुङले विधेयकले लिखतहरूलाई अनिवार्य रूपमा स्थानीय तहमा दर्ताको प्रस्ताव गरेको पनि बताए । अनुचित लेनदेन स्थापित भएमा कसुरदारलाई कैद र जरिवाना दुवै प्रस्ताव गरिएको पनि उनको भनाइ छ । 

 मिटरब्याजपीडितसँग भएको सहमति अनुसार अध्यादेश सिफारिस गरेको थियो । सिफारिस अनुसार जारी अध्यादेश संसद्को चालु अधिवेशन प्रारम्भमा पेस भएसँगै प्रतिस्थापन विधेयक सरकारले ल्याएको थियो । प्रतिस्थापन विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पेस गरिएको हो ।