दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपालले युएईलाई ३ विकेटले हरायो

 काठमाडौँ - जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज भएको सातौँ स्थानको प्लेअफ खेलमा नेपालले संयुक्त अरब इमिरेट्स यूएईलाई ३ विकेटले हराएको छ।

जिम्बावेको हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा भएको खेलमा १८२ रनको लक्ष्य पाएको नेपालले ४४ औं ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरी ८५ बलमा ७ चौका र २ छक्कासहित ७९ रनमा नटआउट रहे भने सन्दीप लामिछानेले ३७ बलमा २ चौकासहित २३ रन जाडे।

१०६ रन बनाउँदा ७ विकेट गुमाएर दबावमा परेको नेपाललाई दीपेन्द्र र सन्दीपले आठौं विकेटका लागि नट आउट ७९ रनको साझेदारी गर्दै जिताएका हुन् ।

सातौं विकेटका लागि दीपेन्द्रले गुलशन झासँग ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। गुलशन २४ बलमा १ चौकासहित १२ रनमा आउट भए ।

ज्ञानेन्द्र मल्ल १३ रनमा क्याच आउट हुन पुगे। अरु ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

टस हारेर पहिले ब्याटिङ थालेको युएई ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो । युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ७५ बलमा ४ चौकाको मद्दतमा ४४ रन बनाएका हुन् ।

त्यस्तै रोहन मुस्तफालले ३५ रन बनाए भने आर्यांश शर्र्माले २८ रन जोडे । बसिल हमिदले २९ रन बनाए भने सञ्चित शर्माले १२ रन तथा रमिज शाहजादले १० रन बनाए । बलिङतर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले समान ३र३ विकेट लिए भने प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १(१ विकेट लिए ।