२५ लाखको बदलामा १३ करोड माग गर्ने जनमत पार्टीका नेता पक्राउ

काठमाडौँ - काठमाडौंमा मिटरब्याजी पीडितहरूले आन्दोलन गरिरहँदा सप्तरीमा एक जना मिटरब्याजी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुरले सोमबार बिहान राजविराजबाट मिटरब्याजी आरोपी एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहका अनुसार राजविराज नगरपालिका–७ बस्ने सुरेन्द्रप्रसाद शर्मालाई पक्राउ गरिएको हो। उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य हुन् । उनीविरूद्ध कल्याणपुरमा जाहेरी परेको थियो ।

सप्तरी प्रहरी स्रोतका अनुसार २०६६ सालमा उनका बुवा र स्थानीय निर्मलकुमार यादवका बुवाबीच २५ लाखको कारोबार भएको थियो । निर्मलकुमार यादवका बुवाले शम्भुनाथ नगरपालिकामा रहेको ८ बिगाहा ७ कठ्ठा ७ धुर जग्गा धितो राखेर २५ लाख ऋण लिएका थिए । अहिले पैसा चुक्ता गर्दा २५ लाख नगदको बदलामा १३ करोड माग गरेपछि पीडित प्रहरी कहाँ पुगेका थिए ।