सरकारलाई एमालेको चुनौती  : फागुन १ गते विदा दिने प्रस्ताव संसदबाट पारित गरेर देखाऊ

 काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले फागुन १ लाई उत्सवका रूपमा लिएर जनयुद्ध दिवस मनाउने निर्णय गरे पनि नेपाली जनताले उक्त दिन उत्सव मनाउन नसक्ने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै नेता पौडेलले फागुन १ मा हिंसा सुरु भएको दिन भएको भन्दै त्यसलाई नेपाली जनताले उत्सव मनाउन नसक्ने बताए । उनले बरु सरकारलाई फागुन १ गतेलाई युद्ध दिवस मनाउन प्रस्ताव ल्याएर पारित गर्न चुनौती दिए ।

उनले सरकारसँग त्यस्तो आँट छ भन्दै प्रश्न गरे । उनले सरकार उक्त निर्णयबाट फिर्ता हुनुको विकल्प पनि नभएको बताए । पौडेलले सत्ता पक्षले संवाद, सहमति र सहकार्यका कुरा गरे पनि प्रतिपक्षलाई बोल्न नदिएर र जायज आवाजलाई दमन गरेर सत्तापक्ष र सरकार चलिरहेको आरोप लगाए ।