'राष्ट्रियतालाई प्राथमिकतामा राखेर एमसीसी, बीआरआई कार्यान्वयन गर्नुपर्छ' : सभामुख घिमिरे

 काठमाडौँ - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रियतालाई प्राथमिकतामा राख्दै विदेशी सहयोगलाई जनताको हितमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित विश्व परिवेशमा चीनको अर्थतन्त्र र नेपालमा त्यसको प्रभाव विषयक कार्यक्रममा सभामुख घिमिरेले एमसीसी, बीआरआई लगायतका कार्यक्रमलाई राष्ट्रियतालाई प्राथमिकतामा राख्दै जनताको हितमा कार्यान्वयन गर्नुपर्ने बताएका हुन् । चीन र भारतको आर्थिक प्रगतिबाट फाइदा लिने क्रममा नेपाललाई अवसर र चूनौति दुवै रहेको उनले बताए । 

सभामुख घिमिरेले चीन र भारतको प्रभावलाई सन्तुलित ढंगले कायम राख्दै राष्ट्रियतालाई मजबुद बनाउदै नेपाली जनताको आत्मनिर्भरताका लागि अघि बढाउन कस्तो बाटो लिने भन्नेबारे बहस हुनुपर्ने जिकिर गरे । मुलकमा परिवर्तन आएपनि कृषि वस्तुमा बाह्य निर्भर हुनुपर्ने, दक्ष जनशक्ति बाहिरिनुपर्ने अवस्था, उद्योगधन्दाहरु बन्द हुँदै गएको अवस्थालाई अन्त्य गर्न गम्भीर भएर सोच्नुपर्ने उनले बताए ।