एमालेमा होइन, माओवादीमा पहिरो जान आवश्यक : महासचिव पोखरेल

बुटवल - प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले मुलुकमा तीन मुख्य चुनौती देखिएको बताएका छन् । बुटवलमा शनिबारदेखि सुरु भएको नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले धेरै दलका कारण आज मुलुक अत्यन्त ठूलो संकटबाट गुज्रिरहेको बताए ।

‘मुलुकमा अहिले तीन प्रकारका चुनौती रहेका छन् । मुलुकमा धेरै दल होइन बलिया दल हुनुपर्ने आवश्यकता रहेको बताउँदै उनले भने, अहिलेको पहिलो चुनौती राजनीतिक अस्थिरता र अराजकता हो’, उनले भने, २०४६ पछि मुलुकले २८ जना प्रधानमन्त्री बेहोरेको छ । तर जबसम्म बलियो सरकार बन्न पाउँदैन तबसम्म जनताको समृद्धिको आकांक्षा पुरा हुन सक्दैन ।’

‘अब यो मुलुकमा धेरै दल होइन बलिया राजनीतिक दलको आवशयक छ । एउटै विचारमा आधारित दलले जनमत विभाजन । जति धेरै राजनीतिक दल त्यति धेरै विचलन, अराजकता र वैदेशिक हस्तक्षेप हुन्छ’, उनले पछिल्लो समय नेपालमा सांस्कृतिक मूल्यहरूको विघटन तीव्र गतिमा हुन थालेको बताए । उनले माओवादी जनयुद्धका नाममा जातजातिका नाममा राज्य बाँड्ने माओवादीले प्रयासलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलका कारण रोकिएको भन्दै अहिले फेरि मुलुकमा नयाँ ढङ्गले जातीय द्वन्द्व भड्काउने प्रयासमा प्रधानमन्त्री आफै लागेको बताए । उनले भने, ‘एक प्रकारले भन्ने हो भने संविधान सभाका बेलाको जस्तै जातीय द्वन्द्व भड्काउने कुत्सित प्रयास भइरहेको छ ।’