माओवादीकाे शुद्धिकरणका लागि रुपान्तरण अभियान सञ्चालनः वर्षमान पुन

काठमाडौं - नेकपा(माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टीकोकाे शुद्धिकरणका लागि रुपान्तरण अभियान सञ्चालन गरिएको बताएका छन्।

उपमहासचिव पुनले माओवादीले कुनै पार्टी र दलप्रति लक्षित गरी अभियान सञ्चालन नगरेको उल्लेख गर्दै पार्टीको शुद्धिकरणका लागि अभियान सञ्चालन गरिएको स्पष्ट पारे। देशको आर्थिक विकासका लागि उद्योगी तथा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो। उद्योगी व्यवसायीको हकहितको पक्षमा पार्टी सदैव सकारात्मक रहेको उनले बताए।

“समाज, राज्य र पार्टीको शुद्धिकरणका लागि माओवादीले रुपान्तरण अभियान सञ्चालन गरेको छ”, उपमहासचिव पुनले भने, “लामो समयपछि जनताको गुनासो सुन्न तथा सरकारले गरेका राम्रा कामलाई जनतासामु लैजानका लागि पार्टीले रुपान्तरण अभियान सुरु गरेको हो।”

नेकपा (माओवादी केन्द्र)ले आजदेखि देशभर सुरु गरेको ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’को आज गोँगबुस्थित नयाँ बसपार्कमा उद्घाटन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठबन्धनको सरकारले सुशासनको पक्षमा काम गरिरहेको बताए। वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न सुरु गरेको उनको भनाइ थियो ।

आजदेखि सुरु भएको अभियान देशभरका छ हजार सात सय ४३ वटै वडामा सञ्चालन गरिने उल्लेख गर्दै उनले अभियान तीन महिनासम्म सञ्चालन हुने जानकारी दिए।